दफा १३
समितिको बैठक र निर्णय
– (१) एक वर्षमा कम्तीमा ६ पटकमा नघट्ने गरी समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
तर दुईवटा बैठकबीचको अवधि दुई महिनाभन्दा बढी हुने छैन ।
(२) समितिको सचिवले समितिको बैठक बस्ने सूचनाको साथमा बैठकमा छलफल हुने विषयको कार्यसूची सदस्यहरुलाई बैठक बस्ने मितिभन्दा कम्तीमा सात दिनअगावै उपलब्ध गराउनु पर्नेछ ।
(३) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नेछ ।
(४) कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरुको उपस्थिति भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
तर कोषको दीर्घकालीन तथा अल्पकालीन योजना, वार्षिक कार्यक्रम र बजेटसम्बन्धी विषयमा छलफलको लागि बस्ने बैठकको लागि कम्तीमा पचहत्तर प्रतिशत सदस्यहरुको उपस्थिति आवश्यक हुनेछ ।
(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) समितिले गरेका निर्णयहरु समितिको सचिवद्वारा प्रमाणित गरिनेछ ।
(७) समितिको बैठकसम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरेबमोजिम हुनेछ ।